
बेलौरी नगरपालिका–९ रतनपुरस्थित त्रिभुवन माध्यमिक विद्यालय का प्रधानाध्यापक हरिस ओझा अफिसमा सुतेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न टिप्पणी हुन थालेका छन्। सार्वजनिक तस्बिरमा उनी विद्यालयको अफिसभित्र सोफामा आराम गरिरहेको अवस्थामा देखिएका छन्।

प्रधानाध्यापक ओझाले भने आफू उच्च रक्तचापको समस्या भएकाले नियमित औषधि सेवन गरिरहेको र स्वास्थ्य असहज भएपछि केही समय आराम गरेको स्पष्ट पारेका छन्। उनका अनुसार उनी हाल कक्षा १२ को परीक्षामा खटिएका छन् भने विद्यार्थी भर्नालगायत विद्यालयका काममा बिहानदेखि बेलुकासम्म व्यस्त रहने गरेका छन्।

ओझाले परीक्षा सकेर अफिसमा शिक्षकहरूसँग बसिरहेका बेला छाती दुखेजस्तो भएपछि केही समय आराम गरेको बताए। त्यही अवस्थाको तस्बिर लुकेर खिची सामाजिक सञ्जालमा हालेर आफ्नो चरित्रमाथि प्रहार गरिएको उनको आरोप छ। उनले घटनाबारे प्रहरीमा उजुरी दिने तयारीसमेत गरेको बताएका छन्।
































