
कैलालीको गोदावरी नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र बुढीतोलामा जारी ‘बुढीतोला पर्यटन महोत्सव २०८३’ मा भोलि वैशाख २५ गते चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ ।‘प्रकृति, संस्कृति र समृद्धिको संगम–बुढीतोला हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजना भइरहेको यस महोत्सवमा भोलिको मुख्य आकर्षणका रूपमा चर्चित गायिका एलिना चौहान रहने आयोजकले जनाएको छ ।

चौहानसँगै गायक बिक्रम चौधरी र रिसि राज रानाले पनि आफ्नो बेजोड प्रस्तुतिमार्फत दर्शकहरूलाई मनोरञ्जन दिलाउनेछन् ।सांगीतिक कार्यक्रमका साथै भोलिको आकर्षणका रूपमा मोडल पुष्पा बोहराको नृत्य रहनेछ भने कार्यक्रमको सञ्चालन उद्घोषकद्वय रेखा धानुक र गुणाकर पनेरुले गर्नेछन् । बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समिति, गोदावरी–४, कैलालीको आयोजनामा वैशाख १७ गतेदेखि सुरु भएको यो महोत्सव वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवले यस क्षेत्रको प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजक समितिको छ ।महोत्सवमा स्थानीय उत्पादनहरूको प्रदर्शनीका साथै दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति भइरहेको छ । चिसो मौसम र रमणीय वातावरणका लागि परिचित बुढीतोलामा भइरहेको यो महोत्सवमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूबाट दर्शकहरूको उत्साहजनक उपस्थिति रहँदै आएको छ ।
































