
हिन्दू धर्मावलम्बीहरूले शुक्रबारका दिन शुक्रबार व्रत अन्तर्गत सन्तोषी माता, वैभवलक्ष्मी, अन्नपूर्णेश्वरी र दुर्गा भवानीको पूजा–आराधना गर्ने परम्परा रहेको छ। धर्मशास्त्रअनुसार विधिपूर्वक व्रत बसेर माता लक्ष्मीको पूजा गरे आर्थिक समृद्धि र पारिवारिक सुख प्राप्त हुने विश्वास गरिन्छ।


यस दिन व्रतालुले फलाहारका रूपमा चना र सख्खर सेवन गर्नु शुभ मानिन्छ भने अमिलो परिकार खान निषेध गरिएको छ। सेतो वस्त्र धारण गर्नु, घरमा खीर बनाएर गरिबलाई बाँड्नु तथा दान–पुण्य गर्नु विशेष फलदायी मानिन्छ। धार्मिक मान्यताअनुसार शुक्र ग्रहको अशुभ प्रभाव कम गर्न सेतो वस्तु, चन्दन, कपुर, चिनी तथा रेशमी कपडाको दान गर्नुपर्छ। शुक्रबारको व्रतले सुख, शान्ति र मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ।
































