
कैलालीको अत्तरिया बजार क्षेत्रमा सञ्चालनमा रहेका मासु पसलहरूको गोदावरी नगरपालिका ले अनुगमन गरेको छ। नगरपालिकाको पशु सेवा शाखाले धनगढी रोड आसपासका १३ वटा मासु पसलमा अनुगमन गर्दा अधिकांश पसलमा सरसफाइको अवस्था कमजोर रहेको पाइएको जनाएको छ।



अनुगमनका क्रममा एउटा पसल दर्ता नै नगरी सञ्चालन गरिएको भेटिएको पशु सेवा शाखा प्रमुख रामबहादुर सार्कीले जानकारी दिए। साथै धेरै पसलहरूले मासु बिक्री गर्ने स्थानमै खाजा–नास्ता पसलसमेत सञ्चालन गरेको पाइएको छ, जसले खाद्य स्वच्छतामा जोखिम बढाउने देखिएको शाखाको भनाइ छ।


नगरपालिकाले मासु व्यवसायलाई व्यवस्थित, स्वच्छ र मापदण्डअनुसार सञ्चालन गर्न व्यवसायीहरूलाई निर्देशन दिएको छ। सरसफाइमा ध्यान दिन, पसल दर्ता गर्न तथा मासु कटिङ र अन्य खाद्य सामग्री बिक्रीलाई अलग–अलग व्यवस्थापन गर्न सचेत गराइएको जनाइएको छ।

स्थानीय उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।































