
कैलालीस्थित निसर्ग हस्पिटल ले नेपाली क्रिकेटका उदीयमान खेलाडी लोकेश बम लाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ। आक्रामक ब्याटिङ शैली, आत्मविश्वासपूर्ण प्रदर्शन र अनुशासित खेलका कारण चर्चामा रहेका बमको सहभागिताले अस्पतालका स्वास्थ्य तथा सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

घरेलु क्रिकेटदेखि राष्ट्रिय टोलीको छनोट प्रक्रियासम्म प्रभावशाली उपस्थिति जनाउँदै आएका बम युवा पुस्तामाझ लोकप्रिय खेलाडीका रूपमा स्थापित हुँदै गएका छन्। उनलाई नेपाली क्रिकेटको भविष्यका सम्भावित महत्वपूर्ण खेलाडीमध्ये एक मानिन्छ।
निसर्ग हस्पिटलले विगतदेखि नै विपन्न तथा असहाय बिरामीहरूलाई निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यसहित अस्पतालले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


अस्पतालले गौशाला सहयोग, अनाथ बालबालिकाको शिक्षा तथा आर्थिक सहायता, साथै स्वास्थ्य र शिक्षासम्बन्धी संघ–संस्थासँग सहकार्य गरी मानव सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।
ब्रान्ड एम्बासडरका रूपमा लोकेश बमको आगमनले युवा पुस्तामा स्वास्थ्य सचेतना फैलाउने, खेलकुद र स्वस्थ जीवनशैलीबीचको सम्बन्धलाई मजबुत बनाउने तथा अस्पतालका सामाजिक अभियानलाई राष्ट्रिय स्तरसम्म विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।































