
हिन्दु धर्ममा शनिबारलाई शनिदेवको आराधनाको विशेष दिन मानिन्छ। धार्मिक विश्वासअनुसार शनिदेवले मानिसका कर्मअनुसार फल प्रदान गर्ने भएकाले उनलाई न्यायका देवताको रूपमा पनि पूजा गरिन्छ। शनिदेव सूर्यका पुत्र हुन् भने यमराज उनका भाइ र यमुना उनकी बहिनी मानिन्छिन्।

धर्मशास्त्रअनुसार कडा परिश्रम, अनुशासन र सत्य मार्गमा हिँड्ने व्यक्तिमाथि शनिदेव प्रसन्न हुने विश्वास छ। शनिबार व्रत बस्ने तथा पूजा गर्नेहरूले तेल दान गर्नु शुभ मानिन्छ। साथै पिपलको पूजा गरी पानी चढाउँदा सकारात्मक फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ।

यस दिन कालो तिल, छालाका जुत्ता–चप्पल दान गर्नु पनि शुभ मानिन्छ। शमीको रूखको पूजा तथा हनुमानजीको सामु सर्स्युको तेलको दीप प्रज्वलन गरी हनुमान चालीसाको पाठ गर्दा जीवनमा शान्ति, सुख र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिएको छ।
































