
अत्तरियाः कैलालीको अत्तरिया बजार क्षेत्रमा सञ्चालित मासु पसलहरूको दुईदिने अनुगमनका क्रममा सरसफाइ, भण्डारण र व्यवसाय सञ्चालनमा गम्भीर लापरबाही भेटिएको छ। गोदावरी नगरपालिकाले शुक्रबारदेखि सुरु गरेको बजार अनुगमन शनिबार सम्पन्न गर्दै करिब २० किलो अखाद्य मासु बरामद गरी नष्ट गरेको जनाएको छ।


नगर उपप्रमुख शारदा देवी रोकायाको संयोजकत्वमा गरिएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, वडा नम्बर–२ का वडा सदस्य डबल बहादुर साउँद, पशु सेवा शाखा प्रमुख रामबहादुर सार्की, पशु चिकित्सक डा. निलम कुमारी महतो लगायतको सहभागिता रहेको थियो।


दुई दिनसम्म गरिएको अनुगमनका क्रममा अत्तरिया बजारका करिब ४० वटा मासु पसलको अवस्था अध्ययन गरिएको थियो। अधिकांश पसलमा मासु अस्वस्थकर तरिकाले राखिएको, फ्रिजभित्र मासुसँगै अन्य खानेकुरा खुला अवस्थामा राखिएको तथा सरसफाइमा लापरबाही गरिएको भेटिएको नगरपालिकाले जनाएको छ।


पशु चिकित्सक डा. निलम कुमारी महतोका अनुसार मासुसँग अन्य खाद्य सामग्री एउटै फ्रिजमा खुला रूपमा राख्दा संक्रमण फैलिने जोखिम उच्च हुने भएकाले यस्तो अभ्यास तत्काल रोक्न आवश्यक छ। उनले मासु सधैं छोपेर सुरक्षित तरिकाले भण्डारण गर्नुपर्ने बताइन्। अनुगमनका क्रममा कुहिएको तथा बिग्रिएको मासु जनावरलाई खुवाउन छुट्याएर राखिएको समेत भेटिएको उनले जानकारी दिइन्। उनका अनुसार त्यस्ता मासु जनावरलाई समेत खुवाउन नमिल्ने भएकाले व्यवसायीलाई सचेत गराइएको छ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले केही पसल व्यवस्थित र सफा देखिए पनि धेरै पसलमा न्यूनतम मापदण्डसमेत पालना नगरिएको बताए। उनका अनुसार केही व्यवसाय दर्ता नै नगरी सञ्चालन गरिएको पाइएकाले त्यस्ता पसललाई कानुनी प्रक्रियामा ल्याउन निर्देशन दिइएको छ।
नगरपालिकाले मासु व्यवसायलाई व्यवस्थित बनाउन आगामी आर्थिक वर्षदेखि व्यवसायीसँग अन्तरक्रिया, सचेतना तथा नियमित अनुगमन कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ। अनुगमन टोलीले व्यवसायीलाई मासु काट्ने तरिका, फ्रिजमा सुरक्षित भण्डारण, सरसफाइ तथा खाद्य सुरक्षासम्बन्धी आधारभूत जानकारीसमेत दिएको थियो।

































