
दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन पुगेको छ। नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–तिङ्कर सडकअन्तर्गत १२ किलोमिटर ट्रयाक सम्पन्न भएपछि शुक्रबारदेखि यातायात सञ्चालन गरिएको हो।

दुम्लिङमा गाडी पुगेपछि स्थानीयवासी उत्साहित भएका छन्। अब दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामी ओसारपसार, शिक्षा तथा अन्य सेवामा सहजता आउने अपेक्षा गरिएको छ। करिब ७९ किलोमिटर लामो सडक योजनामध्ये हालसम्म २२.१५ किलोमिटर ट्रयाक खोलिएको छ। बाँकी क्षेत्रमा निर्माण तथा स्तरोन्नति कार्य निरन्तर भइरहेको छ।

व्यास क्षेत्र भौगोलिक रूपमा विकट र चीन सीमासँग जोडिएको क्षेत्र हो, जहाँ वर्षौंदेखि पैदलमार्ग मात्र भर थियो। सडक विस्तारसँगै आर्थिक, सामाजिक तथा पर्यटन विकासमा समेत महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ। स्थानीयले यातायात समस्यामा ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।































