
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा किटजन्य रोग नियन्त्रण सम्बन्धी बहुनिकाय अभिमुखीकरण गोष्ठी भव्य रुपमा सम्पन्न भएको छ। गोदावरी नगरपालिकाको कार्यालयको आयोजनामा सोमबार प्रशासनिक भवनको सभाहलमा कार्यक्रम गरिएको हो।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न गोष्ठीमा डेङ्गु, मलेरिया, औलो लगायत किटजन्य रोगबाट बच्ने उपाय, सरसफाइ तथा जनचेतनाबारे जानकारी दिइएको थियो ।

स्वास्थ्य शाखाका प्रतिनिधि वीर बहादुर कुँवरले लामखुट्टे नियन्त्रण, डेंगु रोकथाम तथा जनचेतना सम्बन्धी विस्तृत प्रस्तुती दिनुभयो। उहाँले समुदाय स्तरमा सचेतना बढाउन, पानी जम्ने स्थान नष्ट गर्न र सुरक्षित वातावरण निर्माण गर्न आग्रह गर्नुभयो। कार्यक्रममा १२ वटै वडाका भलमन्सा, वडा सदस्य तथा स्थानीय प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

गोष्ठीमा सहभागीहरूले डेंगु नियन्त्रणका लागि घरघरमा सरसफाइ अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। नगरपालिकाले आगामी दिनमा सबै वडामा नियमित अनुगमन, लार्भा नष्ट गर्ने कार्यक्रम तथा जनचेतनामूलक अभियानलाई अझ सशक्त बनाइने जनाएको छ।
चालु आर्थिक वर्षमा गोदावरीका ३० जनाभन्दा बढी व्यक्तिहरुमा औलो रोग देखा परेको उनले बताएका छन् । कुँवरले किटजन्य रोग नियन्त्रण गर्न समुदायस्तरमै जनचेतना फैलाउन आवश्यक रहेको बताएका छन् ।
गोष्ठीमा आफ्नो भनाई राख्दै वडा नम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थीले बाक्लो बस्ती भएको क्षेत्रतिर समुदायस्तरमै गएर किटजन्य रोग नियन्त्रणबारे सचेतना फैलाउनु पर्ने बताएका छन् ।
यस प्रकारको अभिमुखीकरण गोष्ठीले स्थानीय तहमा किटजन्य रोग नियन्त्रणमा समन्वय, सहकार्य र जनसहभागिता बढाउने अपेक्षा गरिएको छ, जसले गोदावरीलाई स्वस्थ र सुरक्षित नगर बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। स्थानीय तहमा स्वास्थ्य सचेतना अझ बढ्ने विश्वास छ।
































