सुदूरपश्चिम सरकारमा मन्त्री फेरबदलको चर्चा तीव्र, केन्द्रको निर्णय पर्खाइमा राजनीतिक सरगर्मी

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री फेरबदलको विषयले पुनः राजनीतिक माहोल तातेको छ । सत्तारुढ नेपाली कांग्रेसभित्रैका प्रदेश सांसदहरूले वर्तमान मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै परिवर्तनको माग उठाएका छन् ।

CP Hospital Dhangadhi

मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारमा एमाले र कांग्रेसबीचको सहमतिअनुसार मन्त्रालयहरू बाँडफाँट गरिएको छ । कांग्रेसबाट आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खडका र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट रहेका छन् । एमालेतर्फ भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा कार्यरत छन् । त्यस्तै, तीन राज्यमन्त्रीहरू पनि सरकारमा सहभागी छन् ।

सत्ता गठबन्धनभित्र बढ्दो असन्तुष्टिका कारण संसदीय दलको बैठकमा मन्त्री हेरफेरको विषयले प्राथमिकता पाएको कांग्रेस प्रमुख सचेतक विक्रम सिंह धामीले बताएका छन् । उनका अनुसार केन्द्रसँग समन्वयपछि मात्र अन्तिम निर्णय हुने भएकाले तत्काल परिवर्तन सम्भव छैन ।

nawajiwan
Attariya Hospital

हालै धनगढीमा कांग्रेसका शीर्ष नेता Gagan Thapa, Bishwo Prakash Sharma लगायतको सहभागितामा भएको छलफलमा सांसदहरूले मन्त्रीहरूको आलोपालो व्यवस्था, कार्यसम्पादन मूल्याङ्कन र समावेशी प्रतिनिधित्वको मुद्दा उठाएका थिए । केही सांसदले मुख्यमन्त्री परिवर्तनको मागसमेत राखेका थिए भने केहीले मन्त्री पुनर्गठनमा जोड दिएका थिए ।

छलफलमा सांसद गीता चौधरीले थारू समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अडान राखेकी थिइन् भने दिवान सिंह विष्टले मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । मन्त्री बन्ने आकांक्षीहरूको नाम पनि चर्चामा छ ।

तर मुख्यमन्त्री शाहले भने हाल मन्त्री परिवर्तन वा सरकार फेरबदलको सम्भावना नभएको स्पष्ट गर्दै बजेटपछि मात्रै मूल्याङ्कनका आधारमा निर्णय हुन सक्ने संकेत गरेका छन् । अहिले सरकार आगामी बजेट तयारीमा केन्द्रित रहेको छ ।