
बाजुराको बुढीगंगा नगरपालिका–३ की वडा सदस्य कल्पना देवी थापाको भीरबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ। मंगलबार साँझ करिब ५:३० बजे वडा नं. ६ स्थित फालासैन बजारबाट घर फर्किने क्रममा ३७ वर्षीया थापा दुर्घटनामा परेकी हुन्।

प्रहरीका अनुसार पैदल हिँडिरहेका बेला माथिल्लो भीरबाट अचानक खसेको ढुंगाले लागेपछि उनी करिब ५० मिटर तल सडकतर्फ खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घटनाबारे स्थानीयले प्रहरी कन्ट्रोल कक्षमा जानकारी गराएपछि प्रहरी चौकी बार्जुगाडबाट प्रहरी सहायक निरीक्षक रामबहादुर ऐडीको नेतृत्वमा टोली परिचालन गरिएको थियो। साथै जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पनि घटनास्थल पुगेको थियो।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। यस दुखद घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ।
































