
चिनियाँ राष्ट्रपति सी चिनफिङले मध्यपूर्व र खाडी क्षेत्रमा शान्ति तथा स्थायित्वका लागि अघि सारेको चारबुँदे प्रस्तावलाई इरानले औपचारिक समर्थन जनाएको छ। चीनका लागि इरानी राजदूत अब्दोलरेजा रहमानी फजलीले सामाजिक सञ्जालमार्फत इरान उक्त प्रस्ताव कार्यान्वयनमा सहकार्य गर्न तयार रहेको बताएका छन्। बेइजिङमा इरानी विदेशमन्त्री अब्बास अराघाची र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको भेटमा पनि यसबारे गम्भीर छलफल भएको थियो।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी चीन भ्रमणको पूर्वसन्ध्यामा आएको इरानको यो समर्थनलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। उक्त प्रस्तावले पश्चिम एसिया र फारसको खाडीमा साझा सुरक्षा संरचना, सार्वभौमिकताको सम्मान, अन्तर्राष्ट्रिय कानुनको पालना र सैन्य शक्तिको प्रयोग निषेध गर्ने विषय समेटेको छ।
यसैबीच, चीनले पाकिस्तान र इरानसँगको संवादमार्फत क्षेत्रीय तनाव कम गर्ने प्रयास तीव्र पारेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले सम्बन्धित देशहरूसँग निरन्तर संवाद गर्दै युद्धविराम र दीर्घकालीन शान्तिका लागि कूटनीतिक पहल जारी रहने बताएका छन्।
































