
धनगढीस्थित चैतन्य पाठशालाले एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि कक्षा ११ अध्ययनमा विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ। विद्यालयले मंगलबार पत्रकार सम्मेलनमार्फत उत्कृष्ट नतिजा ल्याएका तथा विभिन्न क्षेत्रमा क्षमता प्रदर्शन गरेका विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गरिने जनाएको हो।

विद्यालयका प्रवन्ध निर्देशक गणेश प्रसाद जोशीका अनुसार संस्था स्थापनाकालदेखि नै जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। यस वर्ष प्रवेश परीक्षाको आधारमा २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। साथै सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट दुई–दुई जना विद्यार्थीलाई समेत पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ।
त्यसैगरी “अपि प्रोजेक्ट” अन्तर्गत एक छात्र र एक छात्रालाई व्यवस्थापन संकायमा आवासीय सुविधा सहित पूर्ण छात्रवृत्ति दिइने विद्यालयले जनाएको छ। कक्षा ११ मा विज्ञान, व्यवस्थापन, कम्प्युटर तथा होटल म्यानेजमेन्ट संकाय सञ्चालनमा रहेका छन्।


छात्रवृत्ति छनोटका लागि एसईई नतिजा, प्रवेश परीक्षा र अन्तर्वार्ता मुख्य आधार रहनेछ। खेलकुद, विज्ञान, कला, संगीत, नृत्य, नेतृत्व विकास, वक्तृत्वकला र उद्यमशीलतामा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई प्राथमिकता दिइनेछ।
विद्यालयले आधुनिक कम्प्युटर प्रयोगशाला, स्मार्ट कक्षा, पुस्तकालय, स्केटिङ पार्क, स्विमिङ पुल र फुटसलजस्ता पूर्वाधारलाई आफ्नो विशेषता बताएको छ। आवेदन फारम वितरण जेठ २१ गतेसम्म, आवेदन दिने अन्तिम मिति जेठ ५ गते र परीक्षा जेठ ७ गते बिहान ११ बजे तोकिएको छ। आवश्यक कागजातसहित आवेदन दिनुपर्ने विद्यालयले जनाएको छ।
































