
डोटीमा बोलेरो जिपले नगरबसलाई पछाडिबाट ठक्कर दिँदा ५ जना घाइते भएका छन्। शिखर नगरपालिका–१० बान्डुङग्रीशैनमा बुधबार बिहान करिब ९:३० बजे धनगढीबाट बाजुरातर्फ जाँदै गरेको बोलेरोले रोकिएको अवस्थामा रहेको नगरबसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा डडेल्धुराकी १३ वर्षीया प्रियंका बिष्ट, शिखर–१० का ७० वर्षीय दीर्घबहादुर बलायर, बाजुराकी ५० वर्षीया कलसी थापा, २६ वर्षीय भीष्म भट्ट र ६० वर्षीया सीता देवी थापा घाइते भएका छन्।

प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्य छ भने प्रियंकाको टाउकोमा चोट लागेर अवस्था मध्यम रहेको छ। सबैको उपचार शिखर पोलिक्लिनिकमा भइरहेको छ।

दुर्घटनामा संलग्न बोलेरो जिप र चालक बुढीगंगा–८ का जय कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
































