महेन्द्र राजमार्ग अतिक्रमणमा कडाइ: १५ दिनको अल्टिमेटम, नहटाए बल प्रयोग हुने चेतावनी

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

महेन्द्र राजमार्गको चिसापानी–अत्तरिया–गड्डाचौकी सडक खण्डमा भएको अतिक्रमण हटाउन सडक डिभिजन कार्यालय महेन्द्रनगरले कडा कदम चालेको छ। सडक सीमाभित्र बनेका अनाधिकृत संरचना हटाउन अन्तिम चेतावनीसहित १५ दिनको अल्टिमेटम जारी गरिएको हो।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सडकको केन्द्रबाट दायाँ–बायाँ २५/२५ मिटरभित्र रहेका सम्पूर्ण घर, टहरा तथा अन्य संरचना हटाउन निर्देशन दिएको छ। सूचनाअनुसार सडक विभागको पूर्वस्वीकृति बिना निर्माण गरिएका संरचना सम्बन्धित धनी आफैँले निर्धारित समयभित्र हटाउनुपर्नेछ।

nawajiwan

सडक डिभिजनले आगामी जेठ १४ गतेसम्मको समयसीमा तोकेको छ। सो अवधिभित्र अतिक्रमण हटाइएन भने कार्यालय स्वयंले संरचना हटाउने र सो कार्यमा लागेको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने स्पष्ट चेतावनी दिइएको छ।

Attariya Hospital

कार्यालयका अनुसार सडक सुरक्षा, यातायात व्यवस्थापन र विस्तार कार्य सहज बनाउन अतिक्रमण हटाउनु अपरिहार्य भएको हो। पछिल्ला वर्षहरूमा राजमार्ग आसपास अनाधिकृत संरचना बढ्दै जाँदा दुर्घटनाको जोखिम र सडक संकुचनको समस्या बढ्दै गएको छ।

सडक डिभिजनले सार्वजनिक सडक ऐन, २०३१ अनुसार आवश्यक कारबाही अघि बढाइने पनि जनाएको छ। स्थानीय तह र सरोकारवालासँग समन्वय गर्दै अभियानलाई प्रभावकारी बनाइने तयारी गरिएको छ।

यस कदमले राजमार्गलाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन विकासका लागि उपयुक्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।