
धनगढीमा निर्माणजन्य सामग्रीको चर्को मूल्यवृद्धिविरुद्ध निर्माण व्यवसायीहरू आन्दोलित भएका छन्। निर्माण व्यवसायी संघ कैलालीले बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै तत्काल मूल्य नियन्त्रण गर्न र निर्माण क्षेत्रलाई राहत दिन माग गरेको हो।

व्यवसायीहरूले सिमेन्ट, डण्डी, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा निर्माण कार्य नै प्रभावित बनेको बताएका छन्। उनीहरूका अनुसार लागत अत्यधिक बढेपछि पुराना ठेक्का सञ्चालन गर्न कठिन भएको छ भने नयाँ आयोजना अघि बढाउनसमेत समस्या सिर्जना भएको छ। निर्माण क्षेत्र नै धराशायी हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ।
संघले सरकारसँग मूल्य नियन्त्रण, व्यवसायीमैत्री नीति लागू तथा निर्माण क्षेत्रलाई राहत पुग्ने विशेष कार्यक्रम ल्याउन माग गरेको छ। माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिइएको छ।


ज्ञापनपत्र बुझाएपछि व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयको गेटअगाडि आधा घण्टा धर्ना दिएका थिए। धर्नामा सहभागीहरूले सरकारको बेवास्ताप्रति असन्तुष्टि जनाउँदै तत्काल हस्तक्षेप गर्न आग्रह गरे।
निर्माण व्यवसाय सङ्घ कैलालीका अध्यक्ष दीर्घराज जोशीले निर्माण क्षेत्र देशको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको भन्दै सरकारले शीघ्र ठोस कदम चाल्नुपर्ने बताए।





























