
भारत–नेपाल सीमासँग जोडिएको लखिमपुर खीरी जिल्लाको पलिया क्षेत्रका सीमावर्ती बजारमा नेपाल सरकारले लागू गरेको नयाँ कर नीतिविरुद्ध व्यापारीहरू आन्दोलित भएका छन् । बिहीबार नगर व्यापार मण्डल पलिया (कंक्षल समूह) र (मिश्रा समूह)को संयुक्त नेतृत्वमा ठूलो संख्यामा व्यापारीहरूले प्रदर्शन गर्दै पलिया तहसील पुगेर विरोध जनाएका हुन् ।

प्रदर्शनका क्रममा व्यापारीहरूले नेपाल सरकारले १०० रुपैयाँभन्दा माथिका घरेलु सामानमा लगाएको भन्सार कर खारेज गर्न माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले भारतका प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र उपजिलाधिकारी डा. अवनीश कुमारलाई बुझाएका छन् भने अर्को ज्ञापन स्थानीय जनप्रतिनिधि रोमी सहानीलाई पनि हस्तान्तरण गरिएको छ ।
व्यापारीहरूको भनाइमा नयाँ कर नीतिका कारण सीमावर्ती बजारको व्यापार करिब ५० प्रतिशतभन्दा बढी घटेको छ, जसले हजारौं व्यापारी तथा श्रमिकको जीविकोपार्जनमा गम्भीर असर पारेको छ ।


व्यापार मण्डलका अध्यक्ष गौरव गुप्ताले नेपाल–भारतबीचको ऐतिहासिक व्यापारिक सम्बन्धमा यो नीतिले नकारात्मक प्रभाव पारेको बताउँदै बनगवां, सूडा, चन्दनचौकी, बसही, खजुरिया लगायतका बजार संकटमा परेको उल्लेख गरे ।
व्यापारीहरूले कूटनीतिक पहलमार्फत कर नीति पुनरावलोकन गरी पुरानो व्यवस्था पुनः लागू गर्न माग गरेका छन् । समस्या समाधान नभए आन्दोलन अझ सशक्त बनाइने चेतावनी समेत दिएका छन् । ज्ञापनको प्रतिलिपि भारतका विदेशमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीलाई समेत पठाइएको जनाइएको छ ।






























