
अत्तरियाः कृष्णपुर नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका भाग लिने खेलाडी विद्यार्थीहरूको बिदाइ गतेको छ ।कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले जिल्ला स्तरीय रनिङ शिल्ड छनौट प्रतियोगितामा सहभागी हुने विद्यार्थी खेलाडीहरूलाई टिका लगाएर बिदाइ गर्नुभएको छ।

कृष्णपुर नगरपालिकाको समन्वयमा आयोजना हुन लागेको ‘१६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता–२०८३’ मा नगरको प्रतिनिधित्व गर्ने टोलीलाई आज एक कार्यक्रमका बीच सुखद यात्रा र सफलताको शुभकामनासहित बिदाइ गरिएको हो। सो प्रतियोगिता यही जेठ १ गतेदेखि ३ गतेसम्म श्री भुवनेश्वर माध्यमिक विद्यालय, शिसैया, कञ्चनपुरमा सञ्चालन हुँदैछ।


बिदाइ कार्यक्रममा नगर प्रमुख ओझाले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सघाउ पुर्याउने बताउनुभयो। उहाँले नगरको नाम उच्च राख्ने गरी अनुशासित भएर आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीहरूलाई प्रोत्साहन समेत गर्नुभयो।
बिद्यार्थीलाई बिदाई कार्यक्रममा कृष्णपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र प्रसाद भट्ट, शिक्षा शाखा प्रमुख अनिता ठगुन्ना लगायत पालिका प्रतिनिधि, शिक्षक तथा बिद्यार्थीको उपस्थिति रहेको थियो ।

































