
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको उपस्थितिलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित विद्युतीय हाजिरी प्रणाली अनिवार्य गरेको छ। यस निर्णयसँगै नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा डिजिटल निगरानी प्रणाली लागू गरिएको छ।

नगरपालिकाअन्तर्गत रहेका १८ आधारभूत र १३ माध्यमिक गरी कुल ३१ सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरी सञ्चालनमा ल्याइएको छ। शिक्षक तथा कर्मचारीको दैनिक उपस्थिति सुनिश्चित गर्दै शैक्षिक प्रशासनलाई प्रभावकारी बनाउने लक्ष्यसहित यो प्रणाली लागू गरिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टका अनुसार विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको दैनिक उपस्थितिको अभिलेखीकरण अब अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गरिनेछ। उनले भने, “हाजिरी विवरण प्रत्येक १५ दिनमा प्रिन्ट गरी प्रमाणित गरेर सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ। दैनिक आउने–जाने समयसहितको विवरण अनिवार्य रूपमा अभिलेखमा समावेश गर्नुपर्छ।”


उनका अनुसार विद्युतीय हाजिरी विवरणकै आधारमा शिक्षक तथा कर्मचारीको तलब भुक्तानी गरिने व्यवस्था गरिएको छ। साथै सबै विद्यालयलाई प्रमाणित हाजिरी विवरणको प्रतिलिपि नियमित रूपमा नगरपालिकामा बुझाउन निर्देशन दिइएको छ।
नगरप्रमुख हेमराज ओझाले विद्युतीय हाजिरी प्रणालीले विद्यालयमा अनुशासन, नियमितता र जवाफदेहितामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। उनले भने, “विद्यालय प्रशासनलाई पारदर्शी र व्यवस्थित बनाउन यो महत्वपूर्ण कदम हो। शिक्षाको गुणस्तर सुधारका लागि प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको छ।”
नगरपालिकाले केही विद्यालयमा बिग्रिएका हाजिरी मेसिन मर्मत गर्ने तथा आवश्यक स्थानमा थप उपकरण जडान गर्ने कार्यसमेत अघि बढाएको जनाएको छ। यस कदमले समग्र शैक्षिक व्यवस्थापनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।































