
अत्तरिया: प्रस्तावित “नेपाल निजामती कर्मचारी विधेयक २०८३” मा समेटिएका विभिन्न व्यवस्थाबारे स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा विज्ञहरूबीच गोदावरी नगरपालिकामा विशेष छलफल गरिएको छ । नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा गोदावरी नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा विधेयकसँगै भूमि प्रशासनसम्बन्धी विषयमा समेत अन्तरक्रिया गरिएको हो ।


कार्यक्रम नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश सभापति तथा गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल नगरपालिका सङ्घका केन्द्रीय कार्यकारी निर्देशक कलानिधि देवकोटा, विज्ञ हेमराज लामिछाने, मुस्कान श्रेष्ठ, बिश्वहरी नेपाल लगायतको विशेष उपस्थिति रहेको थियो । त्यसै गरी नेपाल नगरपालिका संघका केन्द्रीय सदस्य तथा भिमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटी सहित विभिन्न पालिकाका जनप्रतिनिधि, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । केही स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू भर्चुअल माध्यमबाट कार्यक्रममा जोडिएका थिए ।

छलफलका क्रममा प्रस्तावित विधेयकमा रहेका कर्मचारी पदस्थापन, सरुवा–बढुवा, अवकाश कोष, स्थानीय तहमा कर्मचारी व्यवस्थापन तथा प्रशासनिक अधिकारसँग सम्बन्धित विषयमा गहन बहस गरिएको थियो । सहभागीहरूले स्थानीय तहको कार्यसम्पादनमा प्रत्यक्ष असर पार्ने प्रावधानहरू संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरकारसमक्ष सुझाव पठाउने निष्कर्ष निकालेका छन् ।
त्यसैगरी भर्चुअल माध्यम बाट बडिमालिका नगरपालिका बाजुराका नगर प्रमुख अम्मर बहादुर खड्का लगायत अरु पालिका दान बहादुर साउद, ध्रुव जोशी र चेतराज जोशीले समेत स्थानीय तहमा देखिएका व्यावहारिक समस्या र कर्मचारी व्यवस्थापनसम्बन्धी चुनौतीबारे धारणा राखेका थिए ।
कार्यक्रममा स्थानीय तहका साझा समस्या समाधानका लागि नेपाल नगरपालिका संघले समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
































