
चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट बेइजिङ समयअनुसार दिउँसो १२:३३ बजे गरिएको प्रक्षेपणपछि सबै उपग्रहहरूलाई निर्धारित कक्षामा सफलतापूर्वक स्थापित गरिएको जनाइएको छ।

यो मिसन लिजियान रकेटको १३औँ उडान तथा शृंखलाको १४औँ प्रक्षेपण हो। हालसम्म यस शृंखलाले कुल १०० वटा उपग्रह अन्तरिक्षमा पठाइसकेको छ भने कक्षामा राखिएको सामग्रीको कुल तौल १८ टनभन्दा बढी पुगेको छ।
ठोस इन्धन प्रयोग गर्ने ‘लिजियान’ रकेट तीव्र प्रतिक्रिया क्षमतायुक्त मानिन्छ। यसले सार्वभौमिक प्लेटफर्ममा आधारित डिजाइन अपनाएको छ, जसले विभिन्न प्रकारका उपग्रह मिसनसँग सजिलै अनुकूलन हुन सक्ने सुविधा प्रदान गर्छ।


यस प्रक्षेपणमार्फत पठाइएको ‘तियानयान–२७’ उपग्रहमा अन्तरिक्ष प्रदर्शन स्क्रिन, निगरानी क्यामेरा, इन्फ्रारेड क्यामेरा तथा स्मार्ट डाटा प्रशोधन प्रणाली जडान गरिएको छ। यसले इन्फ्रारेड दूरसंवेदी प्रविधिको कक्षीय परीक्षण, अन्तरिक्ष प्रदर्शन, सेल्फी खिच्ने तथा बुद्धिमत्तापूर्ण डाटा प्रशोधनसम्बन्धी कार्य गर्नेछ।
चिनियाँ कम्पनीले आगामी दिनमा रकेट पुनःप्रयोग, मोड्युलर डिजाइन तथा स्वास्थ्य निगरानी प्रविधिमा थप अनुसन्धान र विकासलाई निरन्तरता दिने जनाएको छ।































