
अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भोलि (जेठ ३) देखि धार्मिक उत्सव सुरु हुने भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियास्थित श्री शिव मन्दिर (पुरानो पञ्चायत घर) को सर्वाङ्गीण विकासार्थ ‘श्री पुरुषोत्तममास सप्तदिवसीय सङ्गीतमय पुरुषोत्तम कथा तथा श्रृङ्गारिक महा-आरती २०८३’ आयोजना हुन लागेको हो।

भोलि बिहान कलश यात्रा र साँझ ५ बजे उद्घाटन
आयोजक श्री शिव मन्दिर व्यवस्थापन समितिका अनुसार जेठ ३ गते भोलि बिहान भव्य कलश यात्रा निकालिने जनाएको छ । सोही दिन साँझ ५:०० बजे धार्मिक अनुष्ठानको औपचारिक उद्घाटन गरिने कार्यक्रम तय भएको छ। यो आध्यात्मिक महोत्सव जेठ ९ गतेसम्म निरन्तर सञ्चालन हुनेछ। महोत्सवमा कथा वाचक शास्त्री उमाकान्त अवस्थीबाट सङ्गीतमय कथा प्रचन हुनेछ भने राधे श्याम भजन मण्डलीको समेत विशेष प्रस्तुति रहनेछ।
नगरप्रमुख ओझाको विशेष अपिल
यसैबीच, कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै नगरवासी तथा सम्पूर्ण भक्तजनहरूलाई यस पुण्य कार्यमा सहभागी हुन विशेष आह्वान गर्नुभएको छ। उहाँले ऐतिहासिक धार्मिक उत्सवमा सरिक भई धार्मिक लाभ लिन र मन्दिरको विकासमा योगदान पुर्याउन अनुरोध गर्नुभएको छ।


आयोजक समितिले सम्पूर्ण सनातन धर्मावलम्बी, श्रद्धालु भक्तजन, स्थानीय बुद्धिजीवी तथा आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा महा-आरती तथा कथा श्रवणका लागि हार्दिक निमन्त्रणा कार्ड र ब्यानरमार्फत समेत निमन्त्रणा गरिसकेको छ।































