
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट अलग भई औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्। उनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन्।

ट्रम्पका अनुसार ताइवान विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको थियो। “म चाहन्न कि कोही पनि अलग होस् र स्वतन्त्रता खोसोस्,” उनले भने। साथै, टाढा गएर युद्ध गर्न नचाहने उल्लेख गर्दै उनले ताइवान र चीन दुवै शान्तिपूर्ण रहोस् भन्ने चाहना व्यक्त गरे।
पत्रकारसँगको कुराकानीमा उनले चीनसँग सम्भावित द्वन्द्वको जोखिम नदेखेको दाबी गर्दै राष्ट्रपति सी जिनपिङ पनि युद्ध चाहँदैनन् भन्ने विश्वास व्यक्त गरे।


यता चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सी जिनपिङले ताइवान मुद्दा चीन–अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील विषय भएको बताउँदै यसलाई गलत ढंगले सम्हालिए द्वन्द्व निम्तिन सक्ने चेतावनी दिएका छन्।
त्यसैगरी, ताइवानका राष्ट्रपति विलियम लाइले भने ताइवानले औपचारिक स्वतन्त्रता घोषणा नगरे पनि आफूलाई पहिले नै स्वतन्त्र देशको रूपमा व्यवहार गरिरहेको धारणा राखेका छन्।






























