
चीनले अमेरिकी विमान निर्माता Boeing बाट २०० वटा विमान खरिद गर्ने सहमति जनाएको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले चीन भ्रमणपछि पत्रकारहरूसँग कुरा गर्दै यो जानकारी दिएका हुन्। उनका अनुसार चीनले थप ४–५ सय जेट इन्जिन खरिद गर्ने प्रतिबद्धता पनि जनाएको छ, र भविष्यमा यो संख्या ७५० सम्म पुग्न सक्ने सम्भावना छ।

यो सम्झौता कार्यान्वयन भएमा झन्डै एक दशकयताकै सबैभन्दा ठूलो बोइङ अर्डर हुनेछ। कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहितको अमेरिकी व्यापार प्रतिनिधिमण्डल पनि बेइजिङ भ्रमणमा सहभागी भएको थियो। बोइङले चीन बजार पुनः खुल्नुलाई ठूलो उपलब्धि भनेको छ।
यता चीन सरकारले भने सम्झौताबारे आधिकारिक पुष्टि नगरी अमेरिका–चीन व्यापार सम्बन्ध पारस्परिक लाभमा आधारित रहेको मात्र जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दुवै देशबीच उच्चस्तरीय सहकार्य जारी रहनुपर्ने बताएका छन्।


विश्लेषकहरूका अनुसार सन् २०१८–२०१९ का बोइङ दुर्घटना, व्यापार तनाव र महामारीपछि चीनमा बोइङको बजार हिस्सा घटेको थियो। त्यसपछि युरोपेली कम्पनी एयरबसले ठूलो फाइदा उठाएको देखिन्छ।
तर, उड्डयन बजार तीव्र विस्तार भइरहेकाले चीनले भविष्यमा बोइङ र एयरबस दुवैबाट सन्तुलित खरिद नीति अपनाउने सम्भावना रहेको विज्ञहरूको भनाइ छ।































