
कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमीले आइतबार बृहत अभिभावक भेला आयोजना गर्दै नयाँ शिक्षा पद्धति, आगामी शैक्षिक योजना तथा विद्यार्थीको समग्र विकासबारे विस्तृत छलफल गरेको छ।
विद्यालयकी प्रिन्सिपल यसोदा ध्याडी कडायतले शिक्षासँगै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा विद्यालय केन्द्रित रहेको बताइन्। उनले आगामी दिनमा आइतबार अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने, संस्कारमूलक शिक्षामा विशेष जोड दिइने तथा गोदावरी गुरुकुलका शिक्षकमार्फत नियमित प्रवचन गराइने जानकारी दिइन्।

विद्यालयले स्वास्थ्य, सुरक्षा र अनुशासनलाई प्राथमिकता दिँदै जंकफुड निषेध, सडक सुरक्षा सचेतना तथा विद्यालयमा विद्यार्थी घाइते भए उपचार खर्च विद्यालयले बेहोर्ने व्यवस्था गरिएको जनाएको छ। साथै अभिभावकलाई विद्यालयका नियम पालना सम्बन्धी प्रतिबद्धतामा हस्ताक्षर गराइने बताइएको छ।

यसका साथै पढाइबाहेक विद्यार्थीको प्रतिभा विकासका लागि बिहान र बेलुकी क्रिकेट, फुटबल, नृत्य लगायतका अतिरिक्त क्रियाकलाप सञ्चालनको व्यवस्था गरिएको समेत विद्यालयले जनाएको छ।

































