
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेकी ५० वर्षीया लक्ष्मी विनाडीले एसईई (माध्यमिक शिक्षा परीक्षा) उत्तीर्ण गर्दै प्रेरणादायी सफलता हासिल गरेकी छन्। उनले शैक्षिक सत्र २०८२ मा समैजी माध्यमिक विद्यालय मजगाउँबाट २.९२ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेकी हुन्। घरायसी जिम्मेवारी, पारिवारिक दायित्व र सामाजिक कार्यको व्यस्तताका बीच पनि उनले पढाइलाई निरन्तरता दिँदै सफलता प्राप्त गरेकी हुन्।

विनाडीले २०४९ सालमा कक्षा ८ पछि विविध कारणले पढाइ रोक्नुपरेको बताउँदै पछि पढाइको महत्व गहिरो रूपमा महसुस भएको उल्लेख गरिन्। तीन वर्षअघि पुनः कक्षा ८ मा भर्ना भएर उनले आफ्नो अध्ययन यात्रा पुनः सुरु गरेकी थिइन्।
“सिकाइको कुनै उमेर हुँदैन, चाहना र मेहनत भए जुनसुकै समयमा पनि पढ्न सकिन्छ,” उनले भनिन्। परिवार, शिक्षक र विद्यालयको सहयोगले आफ्नो सफलताको बाटो सहज बनेको उनको भनाइ छ।


विनाडी यसअघि सिर्जनशील महिला विकास तथा बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष र महिला सामुदायिक वनकी नेतृत्वकर्तासमेत रहिसकेकी छन्। हाल उनी संस्थाको सल्लाहकार संयोजकको भूमिकामा छन्।
उनको सफलताले साथीसँगै पढ्ने विद्यार्थीहरूलाई पनि ठूलो प्रेरणा दिएको छ। उनी अब समैजी माविबाट कक्षा ११ मा अध्ययन जारी राख्ने योजनामा छिन्।































