
दार्चुलाको ब्याँस गाउँपालिका–४ सुनसेरा सोमबारदेखि शोकमा डुबेको छ। सम्पाल नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामीले विद्यालय परिसरमै झुन्डिएर आत्महत्या गरेपछि सम्पूर्ण क्षेत्र स्तब्ध बनेको हो।

घटनापछि प्रहरीले सोही विद्यालयका ५ शिक्षकसहित ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिक्षकहरू पदमराज भट्ट, हरीदत्त भट्ट, बिक्रम सिंह कुँवर, दलीदत्त भट्ट, पुस्करराज भट्ट तथा पञ्चदेवा आधारभूत विद्यालयका प्रधानाध्यापक परमानन्द भट्ट रहेका छन्। यस्तै, निर्माणाधीन विद्यालय भवनका ठेकेदार खेमराज भट्ट (खिमानन्द भट्ट) र स्थानीय व्यापारी नरेन्द्रराज भट्ट पनि पक्राउ परेका छन्।
उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार धामीले आत्महत्या गर्नुअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए, जसमा विद्यालयभित्रको विवाद, आरोप–प्रत्यारोप र मानसिक तनावबारे उल्लेख गरिएको छ। उक्त स्टाटसमा उनले केही शिक्षक तथा व्यक्तिहरूले आफूविरुद्ध षड्यन्त्र गरेको दाबी गरेका छन्।

स्रोतका अनुसार विद्यालयका एक शिक्षक बालिका बलात्कार मुद्दामा पक्राउ परेपछि उत्पन्न परिस्थितिले प्रधानाध्यापक धामीमाथि पनि झुटा आरोप लगाउने प्रयास भएको हल्ला फैलिएको थियो। यही तनावका कारण उनी गम्भीर मानसिक दबाबमा रहेको बताइन्छ।
यद्यपि प्रहरीले धामीको बालिका बलात्कार मुद्दासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। प्रारम्भिक अनुमानमा गलत सूचना र मानसिक तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ।
सुसाइड नोटमा धामीले विद्यालय सुधारका काम, व्यक्तिगत योगदान तथा ४६ बुँदामा विकास योजनाहरू उल्लेख गरेका छन्। साथै उनले परिवारलाई धैर्य राख्न र विद्यालयलाई निरन्तर अघि बढाउन आग्रह गरेका छन्। यो घटनाले शैक्षिक क्षेत्रमा गहिरो शोक छाएको छ भने स्थानीय समुदायले निष्पक्ष छानबिनको माग गरेको छ।






























