लाम्पाटा घटनामा उच्चस्तरीय छानबिन माग, ड्रोन विवाददेखि झडपसम्मको आरोप–प्रत्यारोप

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बाजुराको लाम्पाटामा भएको घटनाबारे उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्। बुधबार फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले प्रहरी प्रशासनले दिएको सूचना गलत भएको दाबी गर्दै निष्पक्ष छानबिन आवश्यक रहेको बताएका हुन्।

CP Hospital Dhangadhi

मेयर हमालका अनुसार घटनाको वास्तविक सुरुवात जेठ २ गते नै भएको थियो। उनले वडा सदस्यलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको, उपचारमा जान नदिई नियन्त्रणमा राखिएको तथा घर र रासनसमेत कब्जा गरिएको आरोप लगाए। आफूहरू ५ गते मात्र घटनास्थल पुगेको र त्यसअघि नै प्रमुख प्रशासकीय अधिकृतदेखि अन्य कर्मचारीसमेत कुटपिट भइसकेको उनको भनाइ छ।

उनले आफ्नो टोलीको उद्देश्य बाजुराको रानीसैन क्षेत्रको पर्यटकीय प्रवर्द्धन गर्नु रहेको स्पष्ट पारे। “सुन्दर रानीसैनको प्रचार गरी आन्तरिक पर्यटन बढाउने हाम्रो पवित्र उद्देश्य थियो,” उनले भने। तर, त्यहाँ पुगेपछि स्थानीय आक्रोशका कारण टोलीमाथि ढुंगामुढा भएको र पत्रकारको ड्रोन फुटाइएको, क्यामेरा खोसिएको तथा समाचार संकलनमा अवरोध गरिएको उनले आरोप लगाए।

nawajiwan
Attariya Hospital

ड्रोन उडाएकै कारण घटना भएको भन्ने आरोपलाई उनले “हास्यास्पद” भन्दै अस्वीकार गरे। साथै, पत्रकारलाई समेत अवरोध गरिएकोप्रति आपत्ति जनाउँदै स्वतन्त्र पत्रकारितामाथि आक्रमण भएको बताए।

मेयर हमालले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै दोषी प्रमाणित भए आफूहरू सजाय भोग्न तयार रहेको स्पष्ट पारे। साथै, प्रहरी प्रशासनले अफवाह फैलाएको भन्दै उनले खेद पनि व्यक्त गरेका छन्।

यता स्थानीय र सुरक्षा निकायले भने पहिले नै शान्त भएको अवस्था मेयर हमालको टोली ड्रोनसहित पुगेपछि पुनः तनाव बढेर झडप भएको दाबी गर्दै आएका छन्। घटनामा ६ जना घाइते भएको पुष्टि गरिएको छ।