
कैलालीको गेटामा रहेको नेपालकै पहिलो तथा एकमात्र स्वास्थ्य विज्ञान विश्वविद्यालय शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति र रजिष्ट्रार पदका लागि दरखास्त आह्वान गरिएको छ। विश्वविद्यालयको नेतृत्व चयन प्रक्रिया अघि बढाउन सरकारले ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ।

गत जेठ ५ गते गठित समितिमा प्रा. डा. जयराज अवस्थी, प्रा. डा. लोचना श्रेष्ठ र दिनेश लम्साल सदस्य रहेका छन्। समितिले ‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ अनुसार योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सिंहदरबारस्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र दरखास्त बुझाउनुपर्नेछ। आवश्यक ढाँचा मन्त्रालयको वेबसाइटमा उपलब्ध छ। सार्वजनिक बिदाको दिन परेमा अर्को कार्यदिनमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ। विश्वविद्यालयको शैक्षिक विस्तार र सञ्चालनका लागि यो प्रक्रिया महत्वपूर्ण मानिएको छ।

































