
बाजुराकी जटिल अवस्थाकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाई उद्धार गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय को समन्वयमा ६ दिनदेखि सुत्केरी व्यथा लागे पनि बच्चा नजन्मिएपछि स्वामीकार्तिक खापर गाउँपालिका–१ की १८ वर्षीया ललिता नेपाली लाई तत्काल उद्धार गरिएको हो। उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत पठाइएको छ।


जिल्ला प्रशासन कार्यालय बाजुरा का अनुसार महिलाको स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल हवाई उद्धार गरिएको हो। दुर्गम क्षेत्रमा रहेका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले नेपाली सेनामार्फत निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
































