
कञ्चनपुरः विद्यार्थीहरूमा विज्ञान, प्रविधि, नवप्रवर्तन तथा व्यवहारिक सीप विकास गर्ने उद्देश्यले जनज्योती माध्यमिक विद्यालय मा तेस्रो छुकछुके रोबोट निर्माण कार्यशाला सुरु भएको छ। कार्यशाला जेठ ७ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन हुने विद्यालय प्रशासनले जनाएको छ।

विद्यालय तहदेखि नै STEAM शिक्षा, सिर्जनशील सोच र व्यवहारिक सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यशालामा विद्यार्थीहरूले डिजिटल डिजाइन, मेकानिकल संरचना निर्माण, इलेक्ट्रोनिक जडान तथा आफ्नै रोबोट निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउनेछन्।
विद्यालयका प्राचार्य सुरेन्द्रराज जोशी ले आधुनिक शिक्षाले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारिक रूपमा सक्षम, सिर्जनशील र आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यशालाले विद्यार्थीहरूमा विज्ञान तथा प्रविधिप्रतिको आकर्षण बढाउनुका साथै अनुसन्धानमूलक सोच र समस्या समाधान क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।


कार्यशालाको अन्तिम दिन विद्यार्थीहरूद्वारा निर्माण गरिएका रोबोटहरूको विशेष छुकछुके रोबोट फुटबल प्रतियोगिता तथा अभिभावक भेटघाट कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा विद्यार्थीहरूको सीप, नवप्रवर्तन र सिर्जनात्मक क्षमता प्रत्यक्ष रूपमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको सहजीकरण गोदावरी आविष्कार केन्द्र ले गरिरहेको छ। आयोजकका अनुसार यस्ता व्यवहारिक तथा प्रविधिमैत्री कार्यक्रमहरूले विद्यार्थीहरूमा अनुसन्धानमूलक सोच, टोलीगत कार्य, आत्मविश्वास तथा नवप्रवर्तन संस्कृतिको विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
विद्यालय प्रशासनले अभिभावक, सञ्चारकर्मी, शिक्षाप्रेमी तथा स्थानीय समुदायलाई अन्तिम दिन आयोजना हुने रोबोट फुटबल प्रतियोगिता अवलोकन गरी विद्यार्थीहरूको सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्न अनुरोध गरेको छ।































