
अत्तरियाः तराई क्षेत्रमा पछिल्लो समय अत्यधिक गर्मी बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग कार्यालय अत्तरियाले जनाएको छ। मौसमविद् अख्लेश प्रसाद चौरसियाका अनुसार मौसममा भइरहेको परिवर्तनका कारण तापक्रम लगातार वृद्धि हुँदै गएको छ, जसले जनजीवन प्रभावित पार्न थालेको छ।

उनले बढ्दो गर्मीका कारण डिहाइड्रेसन, लु लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र हल्का कपडा प्रयोग गर्न सुझाव दिइएको छ। मौसम बिभागले जारि गरेको बुलेटिनमा जानकारी राख्दै आवस्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन्


मौसमविद् चौरसियाले बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी जोखिममा रहने भएकाले उनीहरूको हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। साथै, अत्यधिक गर्मीको समयमा शारीरिक श्रम कम गर्न र छायाँमा बस्न सुझाव दिएका छन्। मौसम परिवर्तनसँगै तापक्रम अझै बढ्न सक्ने सम्भावना रहेकाले सबैलाई सचेत र सजग रहन आग्रह गरेका छन ।

































