
हिन्दू धर्मावलम्बीहरूले शुक्रबारलाई विशेष दिनका रूपमा मानेर सन्तोषी माता, वैभवलक्ष्मी, अन्नपूर्णेश्वरी र दुर्गा भवानीको विधिवत पूजा आराधना गर्दछन्। धर्मशास्त्रअनुसार लक्ष्मी माताको व्रत बस्दा जीवनमा आर्थिक स्थिरता र समृद्धि प्राप्त हुने विश्वास रहेको छ।

शुक्रबार व्रत बस्ने भक्तजनले फलाहारका रूपमा चना र सख्खर सेवन गर्नु उत्तम मानिन्छ भने अमिलो पदार्थको प्रयोग वर्जित मानिएको छ। यस दिन सेतो वस्त्र धारण गरी पूजा गर्दा शुभ फल प्राप्त हुने धार्मिक मान्यता छ। घरमा खीर बनाएर गरिबलाई दान गरेमा घरमा धन–धान्य वृद्धि हुने विश्वास गरिन्छ।

सन्तोषी माताको व्रतले मनोकामना पूरा हुने र जीवनमा सुख–शान्ति मिल्ने विश्वास छ। साथै शुक्र ग्रहसँग सम्बन्धित दोष निवारणका लागि सेतो वस्तु, सुगन्ध, चिनी, खाद्य तेल, कपडा तथा चाँदीका वस्तु दान गर्ने परम्परा पनि रहेको छ। शुक्र ग्रहको अशुभ प्रभाव कम गर्न शुक्रबार व्रत र पूजा विशेष लाभदायक मानिन्छ।

































