
कैलालीस्थित गेटा आँखा अस्पतालमा कार्यरत कर्मचारीहरूले नियमअनुसार पाउनुपर्ने सुविधा माग गरिरहेकै बेला अस्पताल प्रशासनले धम्की दिने गरेको आरोप लगाएका छन्।

अस्पतालमा कार्यरत ५२ जना कर्मचारीले तीन बुँदे माग राख्दै जेठ २ गतेदेखि प्रमुख प्रशासन कक्षमा तालाबन्दी गरेका थिए। उनीहरूले आफ्ना मागको सुनुवाइ हुनुपर्नेमा उल्टै व्यवस्थापन पक्षले दबाब र धम्की दिने व्यवहार गरेको दाबी गरेका छन्।
माग सम्बोधनको सट्टा धम्कीको अवस्था सिर्जना भएपछि कर्मचारीहरू न्यायको खोजीमा मानव अधिकार आयोग पुगेका छन्। उनीहरूले प्रशासनिक व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।


यसैबीच, मानव अधिकार आयोग धनगढी कार्यालयले गेटा आँखा अस्पताललाई घटनाबारे आवश्यक जानकारी उपलब्ध गराउन औपचारिक परिपत्र पठाएको छ। आयोगले विषयलाई गम्भीर रूपमा लिएर आवश्यक अध्ययन र अनुगमन अघि बढाएको जनाएको छ।
अस्पताल प्रशासन र कर्मचारीबीचको विवादले सेवा प्रवाहमा समेत असर पर्ने देखिएको छ भने समाधानका लागि संवाद आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

































