
उपभोक्ता अदालतले जहाजभित्र तातो कफी खस्दा घाइते भएकी यात्रुलाई कतार एयरवेजले क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ। अदालतका अध्यक्ष दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुरकी प्रिती थापालाई क्षतिपूर्ति दिने आदेश गरेको हो।

फैसलाअनुसार कतार एयरवेजले मोन्ट्रियल कन्भेन्सन अन्तर्गत २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ र उपभोक्ता संरक्षण ऐनअनुसार थप २० लाख रुपैयाँ गरी कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ तिर्नुपर्नेछ।

घटना सन् २०२३ जुलाई १० मा बोस्टन–दोहा–काठमाडौं यात्राका क्रममा भएको थियो। विमानभित्र चालक दलबाट दिइएको अत्यधिक तातो कफी प्रितीको पेट, तिघ्रा र संवेदनशील अंगमा खस्दा गम्भीर जलन भएको थियो। उनलाई विमान अवतरणपछि आकस्मिक उपचार गरिएको थियो, जहाँ ‘सेकेन्ड डिग्री बर्न’ पुष्टि भएको थियो।

प्रितीले क्षतिपूर्तिका लागि उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सनअनुसार दाबी गरेकी थिइन्। फैसलापछि एयरवेजले ३० दिनभित्र पुनरावेदन गर्न सक्ने व्यवस्था छ।































