
जिल्ला प्रहरी कार्यालय बाजुराको नेतृत्व पहिलोपटक महिला अधिकृतले सम्हालेकी छिन्। प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले बिहीबार औपचारिक रूपमा जिल्ला प्रहरी कार्यालय बाजुराको कमान्ड सम्हाल्दै नयाँ जिम्मेवारी सुरु गरेकी हुन्। उनले जिल्लाको शान्ति सुरक्षा सुदृढ गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा नागरिकमैत्री प्रहरी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

कार्यक्रममा नवआगन्तुक डीएसपी बोहरालाई प्रहरी कर्मचारीहरूले स्वागत गरेका थिए। साथै जिल्ला प्रहरी कार्यालयबाट सरुवा भई नुवाकोट जान लागेका डीएसपी इकबाल हवारीलाई सम्मानसहित बिदाइ गरिएको थियो। कार्यक्रममा प्रहरी अधिकृत तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बोहराले बाजुराको भौगोलिक कठिनाइ र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने बताइन्। उनले प्रहरी संगठनलाई अझ जिम्मेवार, पारदर्शी र सेवामुखी बनाउँदै जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्। उनको नेतृत्वलाई जिल्लामा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
































