बाजुरा–हुम्ला सीमा विवाद : ६ बुँदे सहमतिपछि खुल्यो कर्णाली कोरिडोर

Image
Nisarga Hospital

बाजुरा–हुम्ला सीमा विवादका कारण अवरुद्ध बनेको कर्णाली कोरिडोर सर्वपक्षीय सहमतिपछि पुनः सञ्चालनमा आएको छ। जेठ २ देखि ४ गतेसम्म हिमाली गाउँपालिका–३ र खार्पुनाथ गाउँपालिका–२ को लामपाटामा अस्थायी प्रहरी चौकी स्थापनाको विषयलाई लिएर स्थानीयबीच विवाद उत्पन्न भएको थियो।

CP Hospital Dhangadhi

प्रहरी चौकी निर्माणको क्रममा स्थानीय समूहको अवरोध र कुटपिट हुँदा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना घाइते भएका थिए। घटनापछि हिमाली युवा क्लबले बुधबारदेखि धुलाचौरमा कर्णाली कोरिडोर अवरुद्ध गरेको थियो। शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा भएको सर्वपक्षीय छलफलपछि सडक सञ्चालनमा आएको हो। छलफलबाट ६ बुँदे सहमति भएको छ, जसअनुसार घटनाको छानबिन गर्ने, लुटिएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति फिर्ता गराउने, घाइतेको उपचार सुनिश्चित गर्ने र विस्थापित स्थानीयको सुरक्षाको प्रत्याभूति गराउने निर्णय गरिएको छ।

Attariya Hospital

सहमति कार्यान्वयनपछि कर्णाली कोरिडोरमा यातायात सहज बनेको प्रशासनले जनाएको छ र स्थानीयले दीर्घकालीन शान्ति तथा विकासका लागि सहकार्य आवश्यक रहेको बताएका छन्। प्रशासनले भविष्यमा यस्ता विवाद दोहोरिन नदिन समन्वय समितिलाई सक्रिय बनाउने प्रतिबद्धता जनाएको छ।

nawajiwan