
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ले कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल सँग टेलिफोन संवाद गर्दै बाजुरा–हिमाली क्षेत्रको अस्थायी प्रहरी चौकी भवन निर्माणमा देखिएको अवरोधबारे छलफल गर्नुभएको छ।

शुक्रबार भएको कुराकानीमा मुख्यमन्त्री शाहले आर्थिक वर्ष २०८२/०८३ मा बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ च्याचौर क्षेत्रमा प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरी काम अघि बढाइएको जानकारी दिनुभयो। उहाँले सो क्षेत्र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने स्पष्ट पार्दै निर्माण कार्य अवरुद्ध भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।

दुवै मुख्यमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै घटनामा संलग्न दोषीमाथि कानुनअनुसार कारबाही र शान्ति–सुरक्षा कायम गर्न समन्वय गर्ने विषयमा सहमति भएको जनाइएको छ।

यसैबीच, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले घटनाप्रति खेद प्रकट गर्दै विधेयक छिटो टुंग्याउने, बजेट सन्तुलित रूपमा विनियोजन गर्ने तथा प्रहरी चौकी निर्माण कार्य अविलम्ब अघि बढाउन सरकार र संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।































