
रमेश बहादुर सिंह/ बझाङः पवित्र धार्मिक तथा पर्यटकीय गन्तव्य खप्तड राष्ट्रिय निकुञ्ज मा यही जेठ १२ गते भव्य रूपमा गंगा दशहरा मेला लाग्ने भएको छ। मेलाको अवसरमा खप्तड पर्यटन विकास समितिले सम्पूर्ण श्रद्धालु, पर्यटक तथा प्रकृतिप्रेमीहरूलाई खप्तड पुगेर धार्मिक दर्शन तथा प्राकृतिक सौन्दर्यको आनन्द लिन आग्रह गरेको छ।

खप्तड पर्यटन विकास समितिकी अध्यक्ष जमुना चन्द्र ले “स्वर्गको टुक्रा” भनेर चिनिने खप्तडमा एक पटक अवश्य आउन सबैलाई हार्दिक निमन्त्रणा दिएकी छन्। उनले गंगा दशहरा मेलाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला, संस्कृति तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताइन्।

त्यस्तै खप्तड पर्यटन विकास समितिका कार्यकारी अधिकृत खेम जोशी ले गंगा दशहरा मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै सुरक्षित र व्यवस्थित रूपमा मेला सञ्चालन गरिने बताए। उनले देश तथा विदेशबाट आउने पर्यटकहरूलाई खप्तडको अनुपम प्राकृतिक सौन्दर्य, हरियाली फाँट, शान्त वातावरण तथा धार्मिक आस्थाको अनुभूति लिन यो उत्कृष्ट अवसर भएको उल्लेख गरे।

गंगा दशहरा मेलामा विभिन्न धार्मिक पूजा–आराधना, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ। समितिले सबैलाई सुरक्षित यात्रा गरी खप्तड पुगेर मेलालाई सफल बनाउन अनुरोध गरेको छ।































