
राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने अनुमति प्राप्त देशकै पहिलो सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदैछ। सुदूरपश्चिमको प्रमुख आर्थिक सहकारीमध्ये एक मानिने उक्त संस्थाको नेतृत्व चयनप्रति शेयर सदस्यहरूमा विशेष चासो देखिएको छ।

संस्थाका अनुसार धनगढीस्थित ओम प्यालेसमा बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ। कुल ४० हजार ५९३ जना शेयर सदस्यले नयाँ नेतृत्व छनोटका लागि मतदान गर्नेछन्। ठूलो संख्यामा सदस्य सहभागी हुने भएकाले निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन आवश्यक तयारी गरिएको जनाइएको छ।


नयाँ नेतृत्वका लागि गोपाल पाठक, घनबहादुर शाह र केशव मिश्र प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। तीनै समूहले सदस्यहरूको मत आकर्षित गर्न अन्तिम चरणको रणनीति र प्रचार–प्रसार तीव्र बनाएका छन्।
सहकारीको आगामी नीति, वित्तीय व्यवस्थापन र सेवा विस्तारमा नेतृत्व महत्वपूर्ण हुने भएकाले यो निर्वाचनलाई सहकारी क्षेत्रमै विशेष चासोका साथ हेरिएको छ।

































