
कञ्चनपुर: जनज्योती माध्यमिक विद्यालय मा सञ्चालन भइरहेको छुकछुके रोबोट निर्माण कार्यशालाको अन्तिम दिन विशेष छुकछुके रोबोट फुटबल प्रतियोगिता तथा अभिभावक भेटघाट कार्यक्रम जेठ १० गते बिहान ९:०० बजे आयोजना हुँदैछ।

कार्यशालामा सहभागी विद्यार्थीहरूले आफ्नै हातले निर्माण गरेका छुकछुके रोबोटहरू प्रतियोगितामा प्रस्तुत गर्नेछन्। विज्ञान, प्रविधि, सिर्जनशीलता र व्यवहारिक शिक्षाको संयोजनका रूपमा हेरिएको यस कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास तथा नवप्रवर्तन क्षमताको प्रत्यक्ष प्रदर्शन गर्ने विश्वास गरिएको छ।
विद्यालयका प्राचार्य सुरेन्द्रराज जोशी ले बालबालिकाको सिर्जनशीलता र मेहनतलाई प्रोत्साहन गर्न समुदायको उपस्थिति महत्वपूर्ण रहने बताउनुभयो। उहाँले अभिभावक, शिक्षाप्रेमी, सञ्चारकर्मी तथा स्थानीय समुदायलाई कार्यक्रममा उपस्थित भई बालबालिकाहरूको प्रयासको सम्मान र हौसला बढाइदिन आग्रह गर्नुभएको छ।


कार्यक्रमको सहजीकरण गोदावरी आविष्कार केन्द्र ले गरिरहेको छ। आयोजकका अनुसार समुदायको साथ र सकारात्मक प्रेरणाले विद्यार्थीहरूमा विज्ञान तथा प्रविधिप्रतिको उत्साह अझ बढ्ने अपेक्षा गरिएको छ।
विद्यालय प्रशासनले नजिकका सम्पूर्ण महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई बालबालिकाहरूको सिर्जना, सीप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न हार्दिक अनुरोध गरेको छ।































