चीनको कोइला खानी विष्फोट : ९० जनाको मृत्यु, उद्धार जारी

Image
Nisarga Hospital

चीनको साआन्सी प्रान्तस्थित एक कोइला खानीमा भएको भीषण विष्फोटमा ९० जनाको मृत्यु भएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार तोङझोउ ग्रुपद्वारा सञ्चालित उक्त खानीमा ग्यास विष्फोट हुँदा ठूलो मानवीय क्षति भएको हो । स्थानीय समयअनुसार शुक्रबार साँझ ७ः२९ बजे विष्फोट भएको थियो, जसका बेला २४७ जना मजदुरहरू खानीभित्र कार्यरत रहेका थिए ।

घटनापछि खानी क्षेत्रभर अफरातफरी मच्चिएको थियो भने उद्धार टोली तत्काल परिचालन गरिएको छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार मृतकको संख्या ९० पुगेको पुष्टि भएको छ भने अझै केही मजदुरहरूको खोजी कार्य जारी छ ।

चीनका राष्ट्रपति शी जिनपिङले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका छन् । साथै उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आदेश दिएका छन् ।

दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ भने सुरक्षा मापदण्डबारे पनि समीक्षा गरिने अधिकारीहरूले जनाएका छन् । यस घटनाले चीनको खानी सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ ।

CP Hospital Dhangadhi