
बैतडीमा एक महिलाको अश्लील तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पञ्चेश्वर गाउँपालिका–५ गिरेगडाका अन्दाजी २२ वर्षीय सुनिल चन्द र एक जना महिलालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ । उनीहरूविरुद्ध पीडित महिलाले इलाका प्रहरी कार्यालय मेलौलीमा उजुरी दिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

प्रहरी निरीक्षक सुरज सिंहका अनुसार पक्राउ परेका दुई जनाले आपसमा अश्लील तस्बिर तथा भिडियो आदान–प्रदान गर्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय मेलौलीबाट प्रहरी नायब निरीक्षक दिपेन्द्र चन्दको कमाण्डमा खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो । हाल उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले यस्ता कार्यले साइबर अपराधअन्तर्गत कडा कानुनी कारबाही हुने चेतावनीसमेत दिएको छ ।































