
नेपाली काँग्रेसका सभापति गगन थापा नेतृत्वको संस्थापन समूहले पार्टीलाई एकपक्षीय रूपमा अघि बढाएको आरोप लगाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले आइतबार धनगढीमा प्रदेशस्तरीय भेला गरी आफ्नो शक्ति प्रदर्शन गरेका छन्। “नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरण” शीर्षकमा आयोजित उक्त भेलालाई नेताहरूले संस्थापनविरुद्ध स्पष्ट राजनीतिक सन्देशका रूपमा प्रस्तुत गरेका हुन्।

भेलामा सहभागी अधिकांश नेताले सभापति थापामाथि नेता–कार्यकर्तालाई भ्रममा राखेर पार्टी कमजोर बनाएको आरोप लगाए। उनीहरूले सबै धारका नेताहरूलाई समान जिम्मेवारी र अवसर दिनुपर्नेमा जोड दिए। सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले कांग्रेसको एकताको आधार नवौँ महाधिवेशन भएको उल्लेख गर्दै देउवा पक्षलाई सम्मानजनक भूमिका दिनुपर्ने धारणा राखे। उनले वडास्तरका निर्णयलाई बेवास्ता गर्दा पार्टीको जरा कमजोर भएको आरोप पनि लगाए।
बलायरले आफूहरू पदका लागि नभई अर्थपूर्ण भूमिकाका लागि संघर्षरत रहेको बताउँदै पार्टी एकताको जिम्मेवारी सभापति थापाकै काँधमा रहेको स्पष्ट पारे। भेलालाई प्रमुख अतिथि एनपी साउदले सम्बोधन गरेका थिए भने रमेश लेखक, नैनसिंह महर, मुख्यमन्त्री कमल बहादुर शाह, मन्त्रीहरू, पूर्वमेयर तथा नौवटै जिल्लाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


भेलामा पार्टीभित्रको आन्तरिक अवस्था, संगठन सुदृढीकरण र राजनीतिक दिशाबारे गम्भीर छलफल भएको थियो। सहभागीहरूले कांग्रेस इतिहासकै जटिल अवस्थामा पुगेको निष्कर्ष निकाल्दै विशेष महाधिवेशनपछि देखिएको कमजोरी, आन्तरिक समन्वयको अभाव र निर्वाचन परिणामको समीक्षा आवश्यक रहेको बताए। आगामी १५औँ महाधिवेशनलाई एकता र पुनर्गठनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइयो।
त्यसैगरी, सरकारको कामकारबाही, सुशासन, महँगी, बेरोजगारी, भ्रष्टाचार र लोकतान्त्रिक मूल्यमा देखिएको कमजोरीप्रति पनि भेलाले चासो व्यक्त गरेको छ। पार्टी संगठन सुदृढीकरण, प्रशिक्षण र कार्यकर्ता परिचालनलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालिएको छ। बाजुराको रानीसैन क्षेत्रमा तत्काल समन्वय र समाधान खोज्न पनि माग गरिएको छ।
































