
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्तामा आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन्। इरान र अमेरिकाबीच सम्भावित सम्झौता नजिक पुगेको चर्चा भइरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो।

अमेरिकी सञ्चारमाध्यमका अनुसार छलफलमा ६० दिनको युद्धविराम थप गर्ने, स्ट्रेट अफ होर्मज पुनः खोल्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने विषय समावेश छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत वार्ता रचनात्मक रूपमा अघि बढिरहेको भन्दै दुवै पक्षले पर्याप्त समय लिनुपर्ने बताएका छन्।
इरानी पक्षले भने केही मुख्य बुँदामा अझै असहमति कायमै रहेको जनाएको छ। विदेश मन्त्रालयले प्रगति भए पनि निर्णायक सहमति भइनसकेको स्पष्ट पारेको छ।


यसैबीच, प्रस्तावित सम्झौताबारे अमेरिकी रिपब्लिकन पार्टीभित्रै मतभेद देखिएको छ। केही नेताहरूले यसलाई इरानप्रति नरम नीति भन्दै आलोचना गरेका छन् भने केहीले वार्तालाई सकारात्मक भनेका छन्।
यसअघि पश्चिम एसियामा भएका सैन्य तनाव र युद्धविरामपछि अहिलेको वार्ता थप संवेदनशील बनेको विश्लेषकहरूले बताएका छन्।
































