
इरानी राष्ट्रपति मसूद पेजेस्कियानले देशका तेस्रो सर्वोच्च नेता मोजतबा खामेनीको अनुमति बिना कुनै पनि महत्वपूर्ण निर्णय नलिइने बताएका छन्। उनले कट्टरपन्थी सांसदहरूको आलोचनाको जवाफ दिँदै यस्तो स्पष्टिकरण दिएका हुन्।

सांसद कमरान गजनफरीले राष्ट्रपति पेजेस्कियानले खामेनीको स्वीकृति बिना युद्धविराम स्वीकार गरेको आरोप लगाएका थिए। त्यसको प्रतिउत्तरमा राष्ट्रपतिको यो भनाइ आएको हो।
मोजतबा खामेनी गत मार्च ८ मा सर्वोच्च नेतृत्व सम्हालेपछि सार्वजनिक रूपमा कम देखिएका छन्, यद्यपि उनले लिखित सन्देशहरू जारी गर्दै आएका छन्। ती सन्देशहरूमा अमेरिका र इजरायलविरुद्धको परम्परागत नीति दोहोर्याइएको छ।


हालैका हप्तामा केही वरिष्ठ अधिकारीहरूले उनीसँग भेट गरेको दाबी गरिएको छ। तर उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजीहरू पनि बढेका छन्।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले खामेनी घाइते भएको संकेत गरे पनि इरानले भने ती दाबीहरू अस्वीकार गर्दै आएको छ। यस घटनाले इरानको राजनीतिक नेतृत्व र स्थायित्वबारे नयाँ बहस सुरु गरेको छ।
































