
धनगढी उपमहानगरपालिकाले आगामी जेठ १२ गते मंगलबारका दिन नगर क्षेत्रभित्र स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै सो दिन बिदा हुने जनाएको हो।

सुदूरपश्चिम क्षेत्रकै ऐतिहासिक पर्वका रूपमा रहेको ‘गंगादशहरा’ को अवसरमा उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा संघ-संस्थाहरूमा बिदा दिइने सूचनामा उल्लेख छ।
नगर कार्यपालिकाको मिति २०८१/०४/३१ को निर्णयानुसार हरेक वर्ष ज्येष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन मनाइने गंगादशहरा पर्वलाई यहाँका सबै समुदायले विशेष आस्था र महत्वका साथ मनाउँदै आएका छन्। यस वर्ष सो तिथि आगामी जेठ १२ गते मंगलबार परेको छ।


धनगढी उपमहानगरपालिका वडा नं. १६ रामपुरस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा नेपाल तथा भारतका हजारौँ धर्मावलम्बीहरू गंगादशहराका दिन दर्शनका लागि आउने गर्दछन्। बेहडाबाबा क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्य सहित पर्वको महत्वलाई दृष्टिगत गरी वार्षिक रूपमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा जारी सूचनामा उल्लेख छ।

































