
सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुई महत्वपूर्ण विधेयकहरू टेबल गरिएको छ। सोमबार बसेको बैठकमा “सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सदनमा प्रस्तुत गरिएको हो।


सामाजिक विकास मन्त्री मेघराज खड्काले सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १०७ को उपनियम (१) बमोजिम उक्त विधेयकहरू सभामा टेबल गर्न प्रस्ताव गरेका थिए।
यसअघि वैशाख १७ गते बसेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले लामो समयदेखि प्रक्रियामा अल्झिएका यी विधेयकहरूलाई अविलम्ब सदनमा पेस गरी छलफल अघि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय गरेको थियो। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको उक्त बैठकले विधेयक अड्किँदा संसदको कार्यप्रणालीमाथि प्रश्न उठ्ने भन्दै गम्भीर ध्यानाकर्षण समेत जनाएको थियो।
सरकारले “टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक” २०८१/१२/०३ गते र “बरघर तथा भलमन्सा प्रथा संरक्षण विधेयक” २०८२/०२/२१ गते प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो। लामो समयदेखि सदनमा प्रवेश नपाएका यी विधेयकहरूलाई अन्ततः अघि बढाइएपछि अब छलफल प्रक्रिया अगाडि बढ्ने भएको छ।

































