
युवा सशक्तिकरण समिति कैलालीको अध्यक्षमा सन्तोष सिंह नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश युवा परिषद्को मातहतमा रहने उक्त समितिको अध्यक्ष पदमा सिंहलाई नियुक्त गरिएको हो। सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले सिंहलाई नियुक्तिपत्र प्रदान गरेका हुन्।

नियुक्तिपत्र ग्रहणपछि अध्यक्ष सिंहले युवाको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। उनले जिल्लाभरिका युवालाई सीप, नेतृत्व, उद्यमशीलता र सामाजिक गतिविधिसँग जोड्ने उद्देश्यसहित युवामैत्री कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।

सिंहले युवाको सहभागिता बिना समाज र राष्ट्रको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै युवालाई सकारात्मक दिशातर्फ उन्मुख गराउन समिति प्रभावकारी ढंगले अघि बढाइने बताए। समितिले जिल्लामा युवा लक्षित कार्यक्रम सञ्चालन, नेतृत्व विकास, सचेतना अभिवृद्धि तथा रोजगार र स्वरोजगारसँग सम्बन्धित गतिविधिहरूमा समन्वय गर्नेछ। साथै, स्थानीय तहसँग सहकार्य गर्दै युवाको क्षमता उपयोग गर्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ।

































