
अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ। बीबीसीका अनुसार इरानी क्षेप्यास्त्र प्रक्षेपण स्थल र समुद्री सुरुङ बिछ्याउन प्रयोग हुने डुङ्गालाई लक्षित गरी आक्रमण गरिएको हो। अमेरिकी सेन्ट्रल कमान्डले यसलाई आत्मरक्षात्मक कारबाही भन्दै आफ्ना सैनिकको सुरक्षा सुनिश्चित गर्न कदम चालिएको स्पष्ट पारेको छ।

सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले युद्धविरामका बीच संयमता अपनाइए पनि खतरा देखिएपछि कारबाही गर्नुपरेको बताएका छन्। उनका अनुसार अमेरिकी फौजमाथि सम्भावित आक्रमण रोक्न यो कदम आवश्यक थियो।
यो आक्रमण इरान र अमेरिकाबीच वार्ता चलिरहेको संवेदनशील समयमा भएको हो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले वार्तामा केही प्रगति भए पनि तत्काल सम्झौता हुने अवस्था नभएको बताएका छन्।


न्यूयोर्क टाइम्सका अनुसार रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग नजिकैको बन्दर अब्बास क्षेत्रलाई लक्षित गरिएको हो। यसअघि त्यही क्षेत्रमा विस्फोटको आवाज सुनिएको र अनुसन्धान सुरु गरिएको थियो।
यसैबीच, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौताको नजिक पुगेको संकेत गरे पनि पछि वार्ता प्रक्रियामा हतार नगर्न निर्देशन दिएका थिए। घटनाले मध्यपूर्वमा तनाव अझै बढाएको देखिन्छ।
































